Nepal Khabar

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डाक्टर रोशन पोखरेल नियुक्त

98

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डाक्टर रोशन पोखरेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

सचिव नियुक्तका लागि आज बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा  स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ। त्यसयता स्वास्थ्यमा प्रशासन तर्फका सात जना सचिव भइसकेका छन्। सातौ सचिवका रुपमा लक्ष्मण अर्याल छन्। २०७६ पुस २१ गते स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ।

डाक्टर  चौधरीले राजिनामा दिएपछि मन्त्रालयमा प्रशासनतर्फका सचिवको लागि पटकपटक कुरा उठेपनि सुनुवाई भएको थिएन।

सरकारले स्वास्थ्य सचिव रहेकी डा चौधरीलाई २०७५ मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्यमा सचिवको विवाद सुरु भएको हो। 

स्वास्थ्य सेवाकी सचिव डाक्टर पुष्पा दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै न्यायको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगिन्। अदालतले आदेशपछि उनी पुनः स्वास्थ्य मन्त्रालय आइन्। 

सरकारले सोही मौकामा स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाका सचिव केदारबहादुर अधिकारीलाई पठायो। अदालतले डा पुष्पालाई स्वास्थ्यबाट सरुवा नगर्न सरकारलाई आदेश दिएपछि पुष्पा पनि मन्त्रालयमा पुगिन्।

जसका कारण डा पुष्पा र अधिकारीबीच सचिवको कुर्सीमा बस्न म्युजिकल चेयरको खेल नै चलेको थियो।

त्यसपछि सरकारले मन्त्रालयमा स्वास्थ्य र प्रशासन गरी दुई जना सचिवको दरबन्दीको व्यवस्था गर्‍यो। दुई जना सचिव भएपछि काम र जिम्मेवारीका विषयमा विवाद उत्पन्न सुरु भएको हो।