Nepal Khabar

अध्यागमन विभागको पछिल्लो तीन महिनाको तथ्यांकले पर्यटक आगमन मासिक रूपमा बढ्दै

448

काठमाडौं, ९ चैत । विश्वभर कोभिड विद्धरुको खोप लगाउने अभियान सञ्चालन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना, पर्यटक क्वारेन्टाइनको व्यवस्था खुकुलो बनाउने सरकारको तयारी लगायत कारण पर्यटन क्षेत्रमा पनि सकारात्मक संकेत देखिएका छन् ।

अध्यागमन विभागको पछिल्लो तीन महिनाको तथ्यांकले पर्यटक आगमन मासिक रूपमा बढ्दै गएको देखाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पुस महिनामा मुलुकमा ५ हजार २३२ जना पर्यटक नेपाल भित्रिएका थिए । सो अवधिसम्ममा नेपाल आउने पर्यटकको कुल संख्या भने २५ हजार ७५० रहेको थियो ।

पुसको तुलनामा माघ महिनामा पर्यटक आगमन २ हजारभन्दा धेरैले बढेको छ । सो महिनामा कुल ७ हजार ५३६ जना पर्यटक नेपाल आएका छन् । यस्तै सोही महिनामा १२३ जना पर्यटक देश निकाला भएका छन् ।

यसैगरी फागुनमा समेत माघ महिनाको भन्दा धेरै पर्यटक भित्रिएका छन् । गत महिनामा नेपाल आउने पर्यटकको संख्या ९ हजार ६६ रहेको छ । यससँगै फागुन मसान्तसम्ममा नेपालमा कुल ४२ हजार २५२ जना पर्यटकको आगमन भएको छ । विभागका अनुसार सो महिनामा नेपालबाट १३२ जना पर्यटक भने निकाला भएका छन् ।

चालू आर्थिक वर्षको फागुनसम्ममा विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटकबाट विभागले ४२ करोड २६ लाख २९ हजार रुपैयाँ शुल्क संकलन गरेको छ ।