Nepal Khabar नेपाल खबर

काठमाडौंमा जग्गाको न्यूनतम मूल्यांकन १५ हजार आना

742

नयाँ आर्थिक वर्ष २०७६/७७ शुरु भएसँगै सरकारले सार्वजनिक गरेको जग्गाको मूल्यांकनमा काठमाडौंमा न्यूनतम १५ हजारसम्म दर तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामप्रसाद आचार्य नेतृत्वको समितिले काठमाडौं भित्रका जग्गाको मूल्यांकन गरेको हो ।

समितिका सदस्यहरुमा जिसस काठमाडौंका अधिकृत पिताम्बर अधिकारी, करदाता सेवाक कार्यालय कालिमाटीका कर अधिकृत दीपेन्द्र प्रकाश गिरी, नापी कार्यालय कलंकीका प्रमुख नापी अधिकृत सुरेश जोशी, नेपाल राष्ट्र बैंकका प्रतिनिधि नरेन्द्र सिंह विष्ट, उद्योग वाणिज्य संघ काठमाडौंका कृष्णमान श्रेष्ठ र मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत देबीबहादुर भण्डारी सदस्य सचिव छन् । समितिले कलंकी र साँखु मालपोत क्षेत्रमा पर्ने जग्गाहरुको नयाँ न्यूनतम मूल्यांकन दर रेट तयार पारेको हो ।

उक्त समितिले काठमाडौंभित्र सबैभन्दा सस्तो १५ हजार रुपैयाँ मूल्यांकन गरेको छ ।

समितिले रिङ्गरोड चक्रपथसँग जोडिएको दायाँबाँयाको बल्खुदेखि वनस्थलीसम्मको प्रतिआना न्यूनतम ३५ लाख रुपैयाँ मूल्यांकन गरेको छ ।

काठमाडौं महानगरभित्रै विष्णुमति खोला पुलदेखि रविभवन वडा नम्बर १४ को सीमासम्म गणेशमान पथ र कालिमाटी चोकदेखि दक्षिणतर्फ बल्खु क्षेत्र प्रतिआना ३३ लाख रुपैयाँ न्यूनतम मूल्यांकन गरेको छ ।

यसैगरी महानगरका १३ नम्बर क्षेत्रमा पक्की सडक भएको १८ लाख रुपैयाँ, कच्ची मोटरबाटो भएको १५ लाख रुपैयाँ, गोरेटो बाटो भएको १० लाख रुपैयाँ र बाटो नभएको ६ लाख रुपैयाँ प्रतिआना मूल्यांकन गरिएको छ ।

महानगरको वडा नम्बर १४ मा ३३ लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म, वडा नम्बर १५ मा प्रतिआना २० लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।

काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका क्षेत्रमा ३ लाख रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । भने फर्पिङ-कुलेखानी मूल सडकले छोएको प्रतिआना ३ लाख रुपैयाँ, पक्की सडक छोएको १ लाख ५० हजार, कच्ची बाटो भएको १ लाख रुपैयाँ, गोरेटो बाटो भएको ६० हजार रुपैयाँ र बाटो नभएको जग्गालाई प्रतिआना २५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

उता चन्द्रागिरि नगरपालिकामा १५ लाख रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ भने नागार्जुन नगरपालिका क्षेत्रमा १२ लाख रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।

यस्तै कीर्तिपुर नगरपालिकामा ११ लाख रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।

सीईओ आचार्यकै समितिले मालपोत कार्यालय साँखु मातहतको क्षेत्रहरुको जग्गा पनि मूल्यांकन गरेको छ । साँखु मालपोत क्षेत्रमा प्रतिआना १५ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।

साँखु सडकसँग जोडिएका वडा नम्बर ६ देखि ९ सम्म १७ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । यो क्षेत्रको सबैभन्दा बढी मूल्यांकन गरिएको क्षेत्र यहि हो । सबैभन्दा कम भने यहाँ प्रतिआना १५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

यस क्षेत्रको नाङ्लेभारेमा बाटो नभएका जग्गाहरुको प्रतिआना १५ हजार रुपैयाँ मूल्याङ्कन गरिएको समितिले जनाएको छ । यही क्षेत्रमा गोरेटो बाटो भएकाको ३० हजार, मोटरबाटो भएकाको ५० हजार रुपैयाँ र पिच सडक भएकाको १ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

साँघु मालपोत अन्तर्गत पुखुलाछीमा प्रतिबर्गकिलोमिटर ३ हजार १५० का दरले जग्गाको मूल्यांकन गरिएको छ । यस क्षेत्रमा पुनः नापी भएको कारण वर्गमिटरमा मूल्यांकन गरिएको समितिले जनाएको छ ।