Nepal Khabar नेपाल खबर

भारतीय पक्षको दबाबपछि : तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार ‘ब्याक’

686

काठमाडौं । भारतबाट आयातित तरकारीमा हानिकारक विषादीको मात्रा धेरै भएपछि भन्सार बिन्दुमा विषादी परीक्षण गर्ने लिएको नीतिमा सरकार भारतीय दबाब सामु झुकेको छ । यही असार ३ गतेबाट सरकारले भारतबाट आयात हुने तरकारिको परीक्षण गर्न शुरु गरेपछि भारतीय पक्षले दबाब बढाएका थिए । भारतीय दबाबपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण गर्ने निर्णय स्थगित गरेको उच्च स्रोतले जनाएको छ । 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेश्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो। भन्सारमा कडाई गरिएपछि भारतले नेपालमाथि दबाब दिन शुरु गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता बढेको थियो भने भारतीय व्यापारीसमेत सिंहदरबार धाएको जनाइएको छ । 

अत्यधिक दबाब बढेपछि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भन्सार बिन्दुमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको हो । 

आगामी ६ महिनाका लागि तरकारी, फलफूल र मानव स्वास्थ्यलाई हानी पुर्‍याउने क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ ‘इनर्जी ड्रिंक्स’ र ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स–जुस’ को आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ। 

स्रोतका अनुसार कृषि मन्त्री चक्रपाणी खनाल र उद्योग मन्त्री मातृका यादवबीच यो प्रस्तावका कारण विवाद उत्पन्नसमेत भएको छ । कृषि मन्त्री खनालले आफुलाई थाहा नै नदिएर उद्योग मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लिएकोमा असन्तुष्टि जनाएका छन् ।