Nepal Khabar नेपाल खबर

प्रचण्डलाई मार्ने षड्यन्त्र : सजिलो छैन प्रचण्डको राजनीति

420

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विप्लव पार्टीलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ अनी परिस्थिति हेर्नु पर्दैन ? भन्ने प्रश्न गरेका छन् । ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो' उनले भने,'सजिलो छैन प्रचण्ड बन्न पनि’, उनकाे भनाइ थियाे ।

प्रचण्डले भने,'कसैले चाहेर पनि भैहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइन, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए । अब त्यहि समयमै प्रचण्ड बनिदैन।'  उनले भने,'साथीहरु नयाँ बाटो खोज्नुस्, साच्चै केहि गर्नुछ भने प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रम हो । त्यो भ्रमले कहि पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिई राखेको छु’ हिजसंगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत गरेको मलाई सूचना आएको छ ।'

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने,'एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको छ।' आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहित तथा वेपत्ताको बलिदानीपूर्ण संघर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन् । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाएका छन् ।